वासिंगटन– विश्व बैंकको कार्यकारी सञ्चालक समितिले इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडिए)मार्फत नेपाललाई सात करोड ५० लाख अमेरिकी डलर सहयोग अनुमोदन गरेको छ ।

कोरोनाको सुरक्षित र प्रभावकारी खोपमा पहुँच तथा त्यसको समतामूलक वितरणमार्फत नेपालको स्वास्थ्य तथा खोप प्रणालीलाई सशक्त बनाउन उक्त सहयोग दिइएको विश्व बैंकको विज्ञप्तिमा उल्लेख छ । यो आर्थिक सहायताले नेपालको कम्तीमा एक तिहाइ जनसंख्यालाई कोरोना विरुद्ध खोप लगाउन पुग्ने अपेक्षा विश्व बैंकको छ ।

‘यो महामारीले विशाल चुनौती र अनिश्चित वातावरण खडा गरेको छ, खास गरी खोपको खरिद, आपूर्ति र वितरणमा,’ नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले भने, ‘यो नेपालसँगको हाम्रो सशक्त साझेदारी र ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने सरकारको महत्वाकांक्षी योजनामा तत्काल सहयोग गर्न विश्व बैंक सफल भएको प्रमाण हो ।’

विश्व बैंकले कोभिड १९ विरुद्ध लड्न नेपाललाई यसअघि दुई करोड ९० लाख अमेरिकी डलर सहयोग गरिसकेको छ । उक्त सहायता गत वर्ष अप्रिलमा अनुमोदन भएको थियो ।

नयाँ वित्तीय सहायताको ९० प्रतिशत रकम कोभ्याक्स सुविधाबाट खोप लगाउन पाउने २० प्रतिशत जनसंख्या भन्दा बढीको लागि आवश्यक पर्ने कोभिड १९ को खोप खरिद र खोप कार्यक्रम सञ्चालनमा प्रयोग हुने बताइएको छ । बाँकी रकम नेपालको स्वास्थ्य सेवा प्रणालीलाई कोभिड खोप कार्यक्रममा सहयोग गर्न सक्ने गरी सशक्त बनाउन उपयोग हुनेछ । जस अन्तर्गत निदानात्मक परीक्षणा, प्रयोगशालाका उपकरण र औषधी खरिद पर्छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय