काठमाडौं– नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक संघले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ ।
निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको संघले जनाएको छ ।
संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी ९० रुपैयाँ र कम्तीमा छोटो दूरीमा पाँच रुपैयाँ भाडा बढेको छ । काठमाडौं–धनगढी गन्तव्यमा ९० रुपैयाँ, काठमाडौं–भद्रपुरमा ६० रुपैयाँ भाडा बढेको छ भने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।
हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको थियो ।
बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको संघले जनाएको छ ।