काठमाडौं– दक्षिणकालीनजिकै चाल्नाखेलमा शुक्रबार दुई विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

काठमाडौंको बांगेमुढामा बसोबास गर्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् । घटना शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ ।

नुवाकोट घर भई काठमाडौं बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मंगल तामाङको शव भेटिएको प्रहरीले जनाएको छ । दुवै कक्षा १० का विद्यार्थी हुन् ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेको जानकारी दिए । प्रहरीले कुकुरसहित फरेन्सिक ल्याबको टोली लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ ।

प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय