काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो तीन वर्षमा मुलुकको पूर्वाधार क्षेत्रमा अभूतपूर्व विकास भएको दाबी गरेका छन् । शुक्रबार साँझ आफ्ना विशेष आर्थिक सल्लाहकार मोति दुगडको पहलमा बालुवाटार बोलाइएका व्यवसायीमाझ उनले यस्तो दाबी गरेका हुन् ।
देश विकासका लागि आवश्यक पर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् । रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न तयारी छु ।’ उनले देश विकासका लागि आवश्यक पर्ने नीतिगत सुधारका लागि आफू तयार रहेको बताए ।
अत्यावश्यक कच्चा पदार्थ मात्रै विदेशबाट ल्याउन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल कुनै पनि हालतमा गरिब हुन नसक्ने तर्क गरे । निकट भविष्यमा नै देशको आर्थिक परिचय बदल्न चाहेको भन्दै उनले विकासोन्मुख देशमा नेपाल सिफारिस भएको बताए । वर्तमान सरकार गठन भएको तीन वर्षमा पूर्वाधारमा अभूतपूर्व विकास भएको र नेपाल पुरानोबाट नयाँ नेपालतिर जाँदै गरेको उनले दाबी गरे ।
कोरोनाको महामारी नभएको भए पर्यटन तथा सेवा क्षेत्रमा देखिने गरी केही न केही परिवर्तन भइसक्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले आर्थिक, सामाजिक राजनीतिक क्षेत्रलाई स्वच्छ बनाउन आफू लागी परेको र समग्र क्षेत्रको रुपान्तरण गर्ने नीतिका साथ अगाडि बढिरहेको बताए ।
देशभित्रै सवारी साधन निर्माणको उद्योग खोल्न आग्रह गर्दै प्रधानमन्त्रीले सरकारले त्यस्ता उद्योगका लागि सहुलियत दिने बताए । उनले सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमा प्रतिबद्ध भएर लागेको र उद्योगी व्यवसायीको हितमा गर्नुपर्ने काम गर्न तयार रहेको बताए । उनले सामान आयात गरेर निर्यात गर्नेभन्दा पनि देशभित्रै उद्योग स्थापना गरेर निर्यात गर्ने सोचका साथ काम गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
नेपाल उद्योग महासंघका अध्यक्ष शेखर गोल्छाले चालु आवको बजेट र मौद्रिक नीतिले सार्वजनिक गरेका कार्यक्रमले व्यवसाय तंग्रिन सहज भएको बताए । चार महिना लामो लकडाउन र एक महिनाको निषेधाज्ञाले गर्दा गत आर्थिक वर्ष र यस वर्षको पहिलो तीन महिना अर्थतन्त्र ऋणात्मक रहेको तथ्य पेस गर्दै उनले दोस्रो त्रैमासदेखि अर्थतन्त्रमा सुधार भएको बताए ।
बिहीबारसम्ममा लक्ष्यको ५८ प्रतिशत राजस्व उठेको भन्दै उनले चालु आवमा सरकारी लक्ष्यअनुसार नै राजस्व उठ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘बैंकहरूमा ऋणको माग बढेको छ । जसले तरलतामा चाप पर्न सुरु भइसकेको छ । यसले ब्याज बढाउने भए पनि यो अर्थतन्त्र सुधार हुँदै गएको संकेत हो ।’ अध्यक्ष गोल्छाले शोधानान्तर बचत विस्तारै घट्न थालेकाले मुलुकमा उत्पादन र उपभोग बढ्न थालेको तथा औद्योगिक कच्चापदार्थ, इन्धन र अन्य उपभोग्य सामानको आयात अघिल्ला महिनाको तुलनामा बढेकाले सोधनान्तर बचत घट्न थालेको बताए ।