पेरिस– कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

पोल्यान्ड, फ्रान्स र युक्रेनको राजधानी समेतका कतिपय भागमा नयाँ प्रतिबन्धहरु लगाइएका छन् । अधिकांश पसलहरु बन्द गरिएका छन् भने मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ ।

कोभिड–१९ फैलिन नदिने भन्दै सरकारहरुले लगाएका प्रतिबन्धको विरोधमा युरोपका विभिन्न स्थानमा प्रदर्शन पनि भएका छन् । जर्मनीको कासेल सहरमा क्रुद्ध प्रदर्शनकारीको ठूलो समूह सडकमा आएको थियो । प्रहरी र प्रदर्शनकारीबीच त्यहाँ झडप पनि भएको छ । यसबाहेक लिस्टल, स्विजरल्यान्ड र लन्डनमा पनि प्रदर्शनहरु भएका छन् ।

कासेलमा भेला भएका प्रदर्शनकारी ‘लकडाउन अन्त्य गर’ लेखिएको प्लेकार्ड सहित सडकमा आएका थिए । अफ्रिकामा, म्याडागास्करका राष्ट्रपति आन्द्री रजोलिनाले कोरोना भाइरसको खोप भ्रम रहेको भन्दै खोप अभियानको आलोचना गरेका छन् ।

केही समय मत्थर देखिन थालेको कोरोना भाइरस संक्रमण पछिल्लो समय पुनः सक्रिय देखिएको छ । अघिल्लो साता विश्वभर कोरोनाभाइरसको संक्रमण १४ प्रतिशतले वृद्धि भएको एएफपीले संकलन गरेको तथ्यांकले देखाएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि चीनको सिनोफार्म खोप लगाएको दुई दिनपछि कोभिड देखिएको छ । प्रधानमन्त्रीका प्रवक्ताले खान हाल आइसोलेसनमा बसेको र सामान्य लक्षण मात्र देखिएको बताएका छन् ।
फ्रान्समा एक तिहाईभन्दा बढी जनसंख्या लकडाउनमा छ । तर यो लकडाउन विगतको जस्तो कठोर भने छैन । विद्यालयहरु खुलेका छन् । सैलुन र चकलेट पसलहरु खुलेका छन् ।

कोभिड विरुद्धको अस्ट्राजेनेका खोपको विवाद अझै साम्य भएको छैन । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लायनले युरोपेली मुलुकलाई खोपमा प्राथमिकता नदिई अन्यत्र निकासी गर्ने क्रम नरोकिए पूरै निकासी रोक्ने चेतावनी दिएकी छिन् ।

अस्ट्राजेनेका कम्पनीले ९ करोड डोज खोप युरोपलाई दिने भने पनि हालसम्म ३० प्रतिशत मात्र आपूर्ति गरेको छ । कम्पनीले युरोपेली प्लान्टमा उत्पादनमा ढिलाई भएको बताउँदै आएको छ ।

जर्मनीको फन्के सञ्चार समूहसँग कुरा गर्दै लायनले भनिन्, ‘हामीसँग निकासी रोक्नुबाहेक अर्को विकल्प छैन । यही नै अस्ट्राजेनेकालाई सन्देश हो । अन्य मुलुकका लागि खोप पठाउनुअघि युरोपलाई दिनुपर्छ, नत्र हामी निर्यात रोकिदिन्छौं ।’

अस्ट्राजेनेकाले युरोपेली युनियनमा आबद्ध मुलुकलाई खोप नदिई बेलायतलाई पहिलो प्राथमिकता दिएर पूरै खोप पठाएको युरोपेली युनियनको भनाइ छ । बेलायतले शनिबारसम्म कुल जनसंख्याको कम्तीमा आधा वयस्क जनसंख्यालाई कम्तीमा एक डोज खोप लगाएको छ ।

युरोपेली नियामक निकाय र विश्व स्वास्थ्य संगठनले अस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको जनाए पनि डेनमार्क, नर्वे, स्विडेन र फिनल्यान्डले यो खोप लगाउनुअघि अस्ट्राजेनेका सम्बन्धी विस्तृत विवरण प्राप्त गर्न चाहेका छन् ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्स दुवैले शुक्रबार अस्ट्राजेनेका खोप लगाएका छन् ।

विश्वभर करिब ४० करोड डोज खोप लगाइए पनि टोकियो ओलम्पिक आयोजक समितिले ठूलो संख्यामा विदेशी दर्शकलाई तत्कालै आमन्त्रण गर्न नसकिने अवस्था रहेको जनाएको छ । ‘हामीले सबै सहभागीका लागि सुरक्षित र भरपर्दो वातावरण सुनिश्चित गर्नु पर्दछ,’ टोकियो आयोजक समितिका प्रमुख सेको हासिमोतोले भने, ‘यो अपरिहार्य निर्णय हो ।’

ओलम्पिक खेलको इतिहासमै विदेशी दर्शकलाई आमन्त्रण नगरिएको यो पहिलोपटक हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय