काठमाडौं– त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ । पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफ्टवेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो ।

बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले ३२ लाखमा खरिद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आंगिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफ्टवेयरबाट निःशुल्क रुपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिए ।

विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेखरचनालगायत निःशुल्क पढ्नका लागि विद्यार्थीले पुस्तकालयको वेबसाइट http://www.tucl.org.np मा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उनले जानकारी दिए ।

गत मंसिरबाट सुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ । पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने जानकारी दिए ।

उनका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेसमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौं शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।

उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौंडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इन्जिनियरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागत रुपमा पुस्तकालयले खरिद गरेको डाटाबेससँग जोडिएका छन् ।

यस्तै पुस्तकालयले पछिल्लो समय एसियाली विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग ई–रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ । उक्त सम्झौतानुसार एसियाली विकास बैंकसँग रहेका तीन लाख रिसोर्स पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिए । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।

छुट्टै ई–पुस्तकालय
प्रविधिको युगसँगै पुस्तकालयले आफ्नै छुट्टै ई–पुस्तकालयको डाटाबेस बनाउने योजना पनि अगाडि बढाएको पुस्तकालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।

उनले स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधि तहका शोधपत्रलाई अनलाइनमा राखी ई–पुस्तकालय निर्माण सुरु गरेको छ । अहिलेसम्म दुई हजार शोधपत्र डिजिटलाइज गरिएको छ । पुस्तकालयले छिट्टै पुस्तक, थेसिस, डिजर्टेसन, जर्नल, रिपोर्ट तथा ऐतिहासिक दस्तावेजसहितको आफ्नै छुट्टै डिजिटल डाटाबेस बनाउने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय