काठमाडौं– गायक अनिल सिंहले आफ्ना पुराना र लोकप्रिय गीतसंगीतलाई नयाँ स्वरूपमा ल्याउने बताएका छन् ।
आफैंले सिर्जना गरेको गीतहरूमा श्रव्यदृश्य उत्पादन गरिएका कम्पनीमार्फत ‘कपीराइट’ लगाइएपछि त्यसविरुद्ध चर्को आवाज उठाइ संघर्ष गरिरहेका गायक सिंहले हालै ‘म्युजिक डटकम’सँग आफ्ना गीतको ‘कपीराइट’ र ‘रोयल्टी’का विषयमा सम्झौता गरेका छन् ।
उक्त सम्झौतापछि उनले आफ्ना गीतहरूको ‘अडियो’ आफूले चाहेको अवस्थामा प्रयोग गर्नसक्ने बताए।
उनले भने, ‘मैले तयार गरेको अडियोहरू म आफैंले प्रयोग गर्न नपाउँदाको पीडालाई शब्दमा कसरी बयान गरूँ । मैले श्रव्यदृश्य निर्माणका लागि ती गीतहरू दिएको थिएँ, तर अहिले म आफैंले ती गीत प्रयोग गर्न नपाएपछि आवाज उठाएको हुँ । यसमा पहिलो सफलता प्राप्त भएको छ, हाम्रो संघर्ष अझै जारी छ ।’
सम्झौता अगाडि उनले आफैँ गीत गाउँदा आफ्ना ‘फेसबुक, इन्स्टाग्राम र युट्युब’ च्यानललगायतका सामाजिक सञ्जालमा ‘कपीराइट हानेर उडाइदिए’को बताए । एउटा सर्जकले तयार गरेको सिर्जनालाई प्रयोग गर्न नपाउँदा आफूले विभिन्न समस्या झेलेको उनले बताए ।
‘यो मेरो सफलता होइन, अब उप्रान्त अन्य संगीतकर्मीले पनि मैले जस्तै सम्झौता गर्दै आफ्नो सिर्जनालाई निर्वाध रूपमा प्रयोग गर्न पाउनुहुनेछ । अन्य केही संगीत उत्पादक कम्पनीसँग हाम्रो संघर्ष भने जारी नै छ । सफलताको एउटा खुड्किलो पार गरेको छु, आफ्नो अधिकारका लागि सङघर्ष छाड्दिन,’ उनले भने ।
गायक सिंहले अब पुराना गीतलाई नयाँ श्रव्यदृश्य वा स्वरूपमा ल्याउने समेत बताए । उनका अनुसार अब ‘म्युजिक डटकम’सँग रहेका श्रव्यदृश्यको ‘रोयल्टी’ पनि उनले पाउनेछन् । म्युजिक डटकम र गायक सिंहबीच म्युजिक नेपालबाट प्राप्त ‘रोयल्टी’ आधाआधा बाँड्ने सम्झौता भएको छ ।
आफ्ना गीतसंगीत आफैंले प्रयोग गर्न पाउने अधिकारका लागि संघर्ष जारी राखे तापनि सांगीतिक कार्यक्रममा उपस्थिति बढाउने गायक सिंहले स्प्ष्ट पारे । उनले गाएको ‘इन्जिन गाडीमा’, ‘आइ लभ यू’, ‘प्रेम पत्र’, ‘घिन्ताङ’, ‘विल यु म्यारी मी’जस्ता गीतहरू लोकप्रिय छन् ।









