काठमाडौं– अस्ट्रेलियामा रहेका दुई नेपाली नेतृत्वका उद्यमहरू क्लिक कन्सल्टिङ गु्रप र आइटी टुगेदरले बिजनेस अवार्ड परमाटा पाएका छन् । उत्कृष्ट शिक्षा सेवातर्फ क्लिक कन्सल्टिङ ग्रुप र आइटी टुगेदरले उत्कृष्ट नयाँ व्यवसायका रुपमा परामाटा सम्मान पाएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
क्लिक कन्सल्टिङ गु्रपले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूलाई आइटी, लेखा, इन्जिनियरिङ र साइबर सुरक्षामा जागिर खोज्न मद्दत गरेर ठूलो परिवर्तन ल्याइरहेको छ । अहिलेसम्म, यस गु्रपले सयौं विद्यार्थीलाई सफलतापूर्वक आफ्नो करियर सुरु गर्न मद्दत गरेको छ ।
आइटी टुगेदरले प्राविधिक स्टार्ट अपका साथै साना र मझौला व्यवसायहरूलाई एआई सञ्चालित सिआरएम समाधानमार्फत आफ्नो दैनिक कार्य स्वचालित गर्न मद्दत गरिरहेको छ । वास्तविक व्यावसायिक समस्या समाधान गर्ने उनीहरूको नवीन दृष्टिकोणले उत्कृष्ट नयाँ व्यवसायको उपाधि दिलाएको हो ।
यी उद्यमहरूमा नेपाली युवा ओम राउत, सन्तोष श्रेष्ठ, विकास रिजाल, सुनिल सिग्देल र अनिस कार्की संलग्न छन् । यो अवार्ड युवाहरूले प्रवर्द्धन गरेका स्टार्टअपलाई प्रतिस्पर्धाका आधारमा प्रदान गरिने बताइएको छ ।









