काठमाडौं– तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माण गर्न खरिद सम्झौता भएको छ ।

पहिलो प्याकेजका निर्माण कार्यका लागि न्यूनतम मूल्यांकित तथा सारभूत रुपमा प्रभावग्राही सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीबीच सोमबार खरिद सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिके र सोङ दा–कालिका जेभीका तर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरेका छन् । कम्पनीसँग १६ अर्ब ६२ करोड रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिवृद्धि करबाहेक)मा ठेक्का सम्झौता भएको हो ।

ठेकेदार कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ५७ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको प्रबन्ध–सञ्चालक थिकेले जानकारी दिए ।

आयोजनाको प्याकेज १ (हेडवर्क्स) निर्माण कार्यको लागि निर्माण कम्पनी सिएमसी भी राभेना, इटालीसँग १५ असोज २०७५ मा मा भएको खरिद सम्झौता रद्द भएपछि कम्पनीले १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो । कम्पनीले उक्त बोलपत्र प्रक्रियामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप १६ फागुन २०७६ मा दोस्रोपटक पुनः बोलपत्र आह्वान गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको देशव्यापी बन्दाबन्दी तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्धका कारण पटक–पटक बोलपत्र पेस गर्ने म्याद थप गरिएको थियो । अन्ततः तीनवटा अन्तर्राष्ट्रिय बोलपत्रदाताले बोलपत्र पेस गरेकोमा प्राविधिक बोलपत्रहरुको मूल्यांकनपश्चात सारभूत रुपमा प्रभावग्राही दुईवटा बोलपत्रदाताको आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्यांकन पश्चात न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही साङ दा–कालिका जेभीको बोलपत्र स्वीकृत गरी खरिद सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायत दोस्रो प्याकेजको निर्माण कार्य जारी छ । ठेकेदार कम्पनीले केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यको अतिरिक्त सर्च ट्यांकतर्फको पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङ निर्माण गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय