काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले उद्यमशीलता विकास, रोजगारी सिर्जना गर्न ‘स्टार्टअप एन्ड इनोभेसन’ समिति गठन गरेको छ । यस्तो समिति महासंघमा पहिलोपटक गठन भएको हो ।

नयाँ सोचमा आधारित रहेर उद्यम गरिरहेका ५० वटा स्टार्टअप उद्योग, व्यवसायको व्यावसायिक सफलताका लागि समिति अन्तर्गत रहेको इन्भेस्टर फोरममार्फत ५० लगानीकर्तासँग साक्षात्कार गराई लगानी तथा व्यावसायिक साझेदारीका लागि कार्यक्रम तर्जुमा गरिएको छ ।

यसका लागि यही महिनाको तेस्रो साताबाट आवेदन खुला गरिने छ । यसमा आवेदन दिन चाहने स्टार्टअप/उद्योग, व्यवसायहरू कम्तीमा एक वर्ष र सोभन्दा बढी सञ्चालनमा रहेको हुनुपर्नेछ । आवेदन सबै क्षेत्रका लागि खुला गरिएको संघले जनाएको छ ।

महासंघ कार्यकारिणी सदस्य रंजितराज आचार्यको सभापतित्वमा गठित समितिमा ‘स्टार्टअप एन्ड इनोभेसन’ क्षेत्रमा स्थापित युवा उद्यमी संलग्न छन् ।
समितिले नयाँ उद्यमीलाई अर्थतन्त्रको मूल प्रवाहमा जोड्ने, महासंघको आर्थिक रुपान्तरण मार्गचित्र यो अभियानमार्फत अघि बढाएर वार्षिक चार लाख रोजगारी सिर्जना गर्ने लक्ष्य हासिल गर्ने कार्यमा सहयोग गर्ने अपेक्षा राखेको छ । स्टार्टअप/उद्योग, व्यवसायबारे अध्ययन गर्ने, मुलुकभित्र नविनतम सोचसहितको उद्यमशीलता प्रवर्द्धन गर्न उद्योग मन्त्रालय अन्तर्गत लगानी प्रवर्द्धन महाशाखासँगको सहकार्यमा स्टार्टअप नीति निर्माणका लागि पहल गर्ने महासंघले जनाएको छ ।

नयाँ सोचसहित केही गर्न अघि सरेका नवउद्यमीको पहिचान गरी उनीलाई अगाडि बढ्न आवश्यक पुँजी लगानी जुटाई सहयोग गर्ने लगायत काम गर्ने महाशाखाले जनाएको छ ।
व्यवसाय लगानीका लागि छनोट भएपछि उनीहरुलाई लगानीकर्तामाझ पु¥याउन पहिलो तीन महिनाको मेन्टरसिप कार्यक्रममा समावेश गराइनेछ । उद्यमशीलतासम्बन्धी परामर्श दिन २० जना मेन्टर रोस्टरसमेत तयार पारिएको छ ।
मेन्टरमार्फत करिब तीन महिना परामर्श दिई उद्यम गर्न सक्षम बनाइने महासंघले जनाएको छ । केन्द्रबाहेक जिल्लास्तरमा पनि स्टार्टअप÷उद्योग, व्यवसायलाई आवश्यक पर्ने मार्गदर्शनका लागि भर्चुअल माध्यमबाट समेत मेन्टरहरू उपलब्ध गराइने छ ।
स्टार्टअप एन्ड इनोभेसनमार्फत स्टार्टअप व्यवसाय सुरु गरेका उद्यमी व्यवसायीका वास्तविक समस्या तथा चुनौतीका विषयमा छलफल गरी सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका विषयमा सुझाव तयार गर्ने र यस क्षेत्रका लागि हुनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव पेस गरिने महासंघले जनाएको छ ।
पछिल्लो पाँच वर्षमा नेपालमा स्टार्टअप राम्रो फस्टाएको विभिन्न अध्ययनले देखाइसकेकाले विश्व इनोभेसन सूचकांकमा नेपाल एक सय २६ देशमा एक सय नौ नम्बरमा देखिएको महासंघले स्मरण गराएको छ ।
पछिल्लो समय नेपालमा स्टार्टअप थालेका उद्यमी २५ देखि ४० वर्षका युवा रहेको र उनीहरु विदेशका प्रतिष्ठित शैक्षिक संस्थामा अध्ययन गरी आएकाले उनीहरुमा नविनतम सोच अत्याधिक रहेको समेत महासंघको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय