काठमाडौं– सरकारले आगामी वर्ष २०७८ मा हुने सार्वजनिक बिदाको विवरण प्रकाशित गरेको छ । सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आगामी वर्ष दिइने विभिन्न बिदा जानकारी गराएको हो ।

राजपत्रमा प्रकाशित गृह मन्त्रालयका अनुसार आगामी वर्ष शनिबार बाहेक नयाँ वर्ष, रक्षाबन्धन, घटस्थाना, छठ पर्व, माघी पर्व र शिवरात्रिका दिन देशभरका कार्यालय बिदा हुनेछन् ।

फागू पूर्णिमाको बिदा तराई र पहाडमा छुट्टाछुट्टै दिन पाइने छ । असोज २६ देखि ३० गतेसम्म पाँच दिन दसैं बिदा र कात्तिक १८ देखि २१ सम्म चार दिन तिहार बिदा हुनेछ । मे दिवस, जेठ १५ गते पर्ने गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसमा सबैले छुट्टी पाउनेछन् ।

जन्मजयन्तीको रुपमा जेठ १२ गते बुद्ध जयन्ती बिदा हुनेछ । देशव्यापी रुपमा महिला, पुरुष दुवैले पाउने यी बिदाहरु जोड्दा २२ दिन हुन आउँछ ।
काठमाडौं उपत्यकाको हकमा गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटा देखाउने जात्रा र घोडेजात्राका दिन पनि बिदा हुनेछ । महिलाले हरितालिका व्रतको एक दिन र जितिया पर्व मनाउने जिल्लामा सो एक दिन बिदा पाउनेछन् ।

बसन्त पञ्चमीका दिन शिक्षण संस्थालाई बिदा हुनेछ । मंसिर १७ गते पर्ने विश्व अपांगता दिवसमा अपांगता भएका कर्मचारीले बिदा पाउनेछन् । किरातहरुले फाल्गुनन्द जयन्ती र शिखले गुरु नानक जयन्तीमा बिदा पाउने छ ।

त्यसैगरी, वैशाख पूर्णिमा (चण्डि पूर्णिमा), गौरा पर्व, इद, बक्र इद, धान्य पूर्णिमा, क्रिसमस डे, तमू ल्होसार, सोनम ल्होसार, ग्याल्बो ल्होसार र सिरुवा पावनी पर्वका दिन ती पर्व मनाउने समुदायका लागि मात्र बिदा हुने राजपत्रमा उल्लेख छ ।

माघ १६ मा पर्ने सहिद दिवस, राष्ट्यि एकता दिवस, निजामती सेवा दिवसमा भने बिदा हुने छैन । दिवस भने मनाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय