काठमाडौं– धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले मंगलबारदेखि अन्तिम कारोबार मूल्यका लागि पछिल्लो १५ मिनेटको औसतबाट गणना विधि स्थगित गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सो विधि स्थगित गर्न नेप्सेलाई पत्र पठाएसँगै स्थगित गर्न लागेको नेप्सेले बताएको छ ।
नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ लाई चौथो पटक संशोधन गरी अन्तिम १५ मिनेटको कारोबार समयसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था गत २०८१ चैत ७ गतेदेखि लागू गरेको थियो ।
लगानीकर्ताहरुले पछिल्लो समय सो विधि हटाउन माग गरिरहेका थिए। हिजो शनिबार बसेको नेपाल धितोपत्र बोर्डको बैठकले सो विधि स्थगन गर्ने निर्णय गरेको थियो।
नेपाल धितोपत्र बोर्डको मिति २०८२ असोज ४ को पत्रमार्फत धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८७ को उपदफा (१) बमोजिम प्राप्त निर्देशन अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) २०८१ को विनियम ११ उपविनियम (७) मा उल्लेखित ‘उपविनियम (१) खण्ड (ख) बमोजिमको सत्रमा २ः४५ बजेदेखि ३ः३०० बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्था छ ।
यस अवधिमा कुनै कारोबार नभएमा पछिल्ले कारोबार मूल्यलाई अन्तिम मूल्य मानिनेछ’ भन्ने व्यवस्था स्थगन गरी अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने व्यवस्था मिलाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए ।
परिवर्तित व्यवस्थाको आज प्राविधिक परीक्षण गरी त्यसपछिको कारोबार दिनदेखि लागू गरिने प्रवक्ता पराजुलीको भनाइ छ ।









