काठमाडौं– रुरु जलविद्युत परियोजना लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि यही चैत २० गते शुक्रबारबाट प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता सेयर जारी गर्न लागेको हो ।
कुल निष्काशित सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि र २ प्रतिशत सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्तामा सर्वसाधारणले लगानी गर्न पाउने छन् ।
लगानीकर्ताले आइपिओमा चाँडोमा चैत २४ गतेसम्म ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा मेरो सेयरको मोबाइल एप र वेभसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् ।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
इक्रा नेपालले उक्त आइपिओलाई ‘इक्रा एनपी आइआर ट्रिपल बी’ रेटिङ दिएको छ । यो रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।
यसअघि कम्पनीले पहिलो चरणमा फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ७ हजार ७०५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बाँडफाँड गरिसकेको छ ।
रुरु जलविद्युत परियोजनाले गुल्मीको माथिल्लो हुग्दी खोलाबाट २०७१ चैतदेखि ५ मेगावाट क्षमताको आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ भने आइपिओ बिक्रीपछि ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।