
दैलेख– नारायण नगरपालिका–५ नवदुर्गा निमावि धिताहमा सयौं विद्यार्थी एकसाथ बिरामी परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ ।
ज्वरो आउने, रिँगटा लाग्ने र काम्ने समस्या देखिएपछि मंगलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए ।
उनका अनुसार आइतबार करिब १५०, सोमबार करिब सय र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थी बिरामी भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए ।
विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए । बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा गुरुङले जानकारी दिए ।
यो महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ । हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए ।