काठमाडौं– नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले सञ्चालन गर्दै आएको एससीटी–युनियनपे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ ।
यही असोज २९ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससीटी–युनियनपे कार्ड प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ । उक्त सुविधाको सुरुवातले ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास कम्पनीले गरेको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युनियनपे कार्ड जारी गर्दै आएको छ ।
एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विचमार्फत एससीटी–युनियनपे कार्ड र भिसा कार्ड जारी गर्ने तथा भिसा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ । एससीटीले कार्ड सेवाका अतिरिक्त विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई स्मार्ट क्युआर, स्मार्ट पे अन्तरबैंक भुक्तानी सेवा, स्मार्ट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा समेत प्रदान गर्दै आइरहेको छ ।









