काठमाडौं– नेपाल आयल निगमले बबरमहलमा नयाँ केन्द्रीय कार्यालय बनाउने तयारी थालेको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो ।

गोरखा भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीनवटै भवनमा रातो स्टिकर टाँसेको थियो । रातो स्टिकर टाँसिएको पाँच वर्षपछि बल्ल निगमले नयाँ भवन बनाउन तयारी थालेको हो ।

लामो समयको गृहकार्यपछि निगमले बबरमहलमा रहेको तीन पुराना भवन भत्काएर सोही स्थानमा १० तलाको नयाँ कर्पाेरेट भवन बनाउन बोलपत्र आह्वान गरेको छ । नेपालकै आधुनिक र सुविधासम्पन्न भवनमध्येमा सूचीकृत हुने गरी नयाँ भवन बनाउन लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उनका अनुसार नयाँ बन्ने कार्यालय भवनको डिजाइनअनुसार भूमिगत दुई तलाको पार्किङ हुने र जमिनमाथि १० तलाको भवन बनाइने छ ।

जमिनमाथिको १० तलामध्ये चार तलाको आधुनिक भवन हुने र ६ तलाको टावर हुनेछ । नयाँ बन्ने कार्यालय भवनको कोठा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुने निगमले जनाएको छ ।

भवनमा लिफ्ट, फायरफाइटिङ, आकस्मिक निकासलगायत सबै अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहनेछन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने भवन बनाउन एक अर्ब ७९ करोड लागत अनुमान गरिएको छ । हालको पुरानो कार्यालय भवन भत्काउन सुरु भएपछि निगमको अस्थायी कार्यालय टेकुमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय