काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महिनामा ८८१ वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजारभन्दा बढी वस्तुको नमूना संकलन गरेको थियो ।

विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालु आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महिनमा दुई हजार २८४ वटा वस्तुको नमूना संकलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो । ती वस्तुमा २७४ खाद्यान्न तथा दलहनजन्य, १२४ तेल तथा घ्यूजन्य, ९८ वटा दाना, ९१ फल तथा सागपातजन्य, ६९ वटा मसला, ३१ वटा कन्फेक्सनरीका, २९ प्रशोधित पिउने पानी र १९ वटा दूध तथा दुग्ध पदार्थको नमूना विश्लेषण गरिएको थियो ।

नमूना विश्लेषण गर्दा दोस्रो चौमासिकमा ५७ नमूना मापदण्डविपरीतका रहेका थिए । विभिागको तथ्यांकअनुसार पहिलो चौमासिकमा ७० नमूना मापदण्डविपरीत थिए । आठ महीनामा १२७ वटा नमूना मापदण्ड विपरीतका छन् । सोमध्ये दानाका ३१ नमूना, प्रशोधित पिउने पानीका १८ नमूना, खाद्यान्नका २० नमूना, तेल तथा घ्यूजन्य १९ नमूना लगायत अन्य खाद्य पदार्थका नमूना रहेका थिए ।

७६ मुद्दा दर्ता
विभागले चालु आवको आठ महिनामा खाद्य ऐन तथा नियमानुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्रीवितरण गर्ने ७६ मुद्दा दर्ता गरेको छ । विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर पहिलो चौमासिकमा २६ र दोस्रो चौमासिकमा ५० थान मुद्दा दर्ता भएको महानिर्देशक रायले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै मुद्दा प्रशोधित पिउने पानीमा रहेको छन् । आठ महिनामा पानीका ११, तयारी चाउचाउ सात, मसला ६, घ्यू पाँच, तेल, बेकरी, दाना, बिस्कुटलगायत उद्योगमा चार वटा मुद्दा दर्ता भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय