काठमाडौं– सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त संख्यामा पर्यटक नेपाल भित्रिएका हुन् ।
सन् २०२४ मा भने ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा केही संख्या बढेको छ, जसमा छिमेकी मुलुक भारतबाट २ लाख ९२ हजार ४३८, अमेरिकाबाट १ लाख १२ हजार ३१६, चीनबाट ५८ हजार ६८४, बेलायतबाट ५७ हजार ५४५, बंगलादेशबाट ४९ हजार ३५७, अस्ट्रेलियाबाट ३७ हजार ५५०, श्रीलंकाबाट ३० हजार २४३, थाइल्यान्डबाट ३० हजार २२७ र जर्मनीबाट २४ हजार ७६३ पर्यटक नेपाल घुम्न आएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
तथ्यांकअनुसार गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएका थिए । उक्त महिनामा छिमेकी मुलुक भारतबाट ३० हजार ९३, चीनबाट ८ हजार ६८०, अमेरिकाबाट ६ हजार ६०५, बंगलादेशबाट ४ हजार ९८०, अस्ट्रेलियाबाट ४ हजार ४१९, थाइल्यान्डबाट ४ हजार २३४, बेलायतबाट ३ हजार ७९३, म्यानमारबाट २ हजार ७५८ र मलेसियाबाट २ हजार ४२९ पर्यटक भित्रिएका छन् ।









