काठमाडौं- नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता द टाइगर कपको छैठौ संस्करणमा खल्तीले टिकटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ ।
यस वर्ष माघ ९ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता टाइगर ग्रुप अफ पोखराले आयोजना गर्दै आएको छ । ७ वटा पुरुष र ७ वटा महिला गरी यस वर्ष १४ वटा टोली यस प्रतियोगितामा सहभागी हुँदैछन्, तीमध्ये ४ अन्तर्राष्ट्रिय टोली हुनेछन् ।
उक्त प्रतियोगिताको टिकटको मूल्य ३०० देखि ५०० रुपैयाँसम्म छ । दर्शकहरुले हरेक खेलको टिकट खल्ती एपबाट सजिलै काट्न सक्ने विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय स्तर मै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता भएको कारण यो प्रतियोगिता अघिल्ला संस्करणहरुबाटै देशभरका दर्शक तथा प्रशंसकहरूको ध्यानाकर्षण गर्न सफल भएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त साझेदारी सम्बन्धमा खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी भन्छन- खल्ती र टाइगर कपको यस नयाँ साझेदारी भलिबल तथा सम्पूर्ण खेलकुद प्रेमीका लागि पक्कै पनि उत्साहको विषय हो । डिजिटल टिकटिङको क्षेत्रमा अग्रणी स्थान बनाएको खल्ती र द टाइगर कपको यस साझेदारीले सबै फ्यानहरूको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा हामी विश्वस्त छौं । हामी आशा गर्दछौं सबैले सहज ढंगले अनलाइन टिकट लिई खेलको भरपुर मज्जा लिनुहुनेछ ।









