मुस्ताङ– यहाँस्थित (नेपाल–चीन) उत्तरी कोरला नाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरला नाकास्थित चिनियाँ भन्सारमा नेपाल भित्रिने मालवाहक कन्टेनर न्यून भएको हो । सो कार्यालयका सूचना अधिकारी निमेन्द्र सिंहका अनुसार कोरला नाकाबाट नेपाल भित्रिएका मालवाहक कन्टेनर हाल भन्सार कार्यालयमा ८÷८ वटा मात्र जाँचपासका लागि ‘पेन्डिङ’मा रहेका बताए। भन्सार जाँचपासका लागि पेन्डिङमा रहेका कन्टेनरबाहेक कोरला नाकाबाट थप कन्टेनर भन्सार कार्यालयमा नआएको सूचना अधिकारी सिंहको भनाइ छ ।
यसअघि तातोपानी र रसुवागढी नाका नखुल्दा दैनिक १५–२० वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास हुने गरेकामा हाल त्यो संख्या लगभग पूरै घटिसकेको सूचना अधिकारी सिंहको भनाइ छ । गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कोरलानाकाबाट भित्रिएका मालवस्तुको भन्सार जाँचपास हुँदा साढे पाँच अर्ब रुपैयाँ बढी राजस्व संकलन भइसकेको छ । कोरला नाकाबाट हालसम्म ११ अर्ब बढीको मालवस्तु आयात भएको र नेपालबाट १९ करोड बढीको हस्तकला तथा नेपाली उत्पादन मालवस्तु चीनतर्फ निर्यात भएको उनको भनाइ छ ।
सूचना अधिकारी सिंहका अनुसार हालसम्म कोरलानाकाबाट २ हजार १०० बढी विद्युतीय कार चीनबाट नेपाल भित्रिएका छन् । पछिल्लोपटक बिवाइडी कम्पनीले झन्डै ५०० बढी विद्युतीय कार कोरला नाकाबाट नेपाल भित्र्याएको छ । कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग ल्याएको र तातोपानी नाका र रसुवागढी नाका खुलेपछि यहाँ आयात–निर्यात कारोबार घटेपछि भन्सार कार्यालयका कर्मचारी फुर्सदिला भएका छन् । यो नाकाबाट सामान ढुवानी गर्दा आर्थिक भार बढ्ने भएकाले आयात–निर्यातको परिमाण न्यून भएको हो ।
प्रमुख सिंहले तातोपानी र रसुवागढी नाका खुले पनि यहाँको भन्सार कार्यालयबाट प्रतिकूल मौसमबाहेक अन्य समयमा आयात–निर्यात कारोबार शून्य नहुने दाबी गरे। उनले भने, ‘रसुवागढी र तातोपानी नाका बन्द हुँदाजस्तो आयात–निर्यात त नहोला, तर कतिपय व्यापारीका लागि यहाँको कोरला नाकाबाटै आयातनिर्यात गर्न सहज हुन्छ । यसैले विगतका वर्षजस्तो यहाँको भन्सार ठप्प भन्ने हुँदैन ।’
यतिबेला कोरलानाका र भन्सार कार्यालयमा चहलपहल घटेको छ । प्रतिकूल मौसमका बाबजुद भन्सार कार्यालयमा केही कर्मचारीले कार्यालय धानेर बसेका छन् । समुद्री सतहको ४ हजार ६१० मिटरको उचाइमा व्यापार गरेर बस्ने व्यापारी, चिनियाँ भन्सारबाट मालवाहक कन्टेनर र विद्युतीय सवारी चलाएर बाहिर निकाल्ने स्थानीय युवाहरू पनि नाकाको चहलपहल घटेपछि जाडो छल्न बेसी झरेका छन् ।









