बेनी– विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्लाको उत्तरी क्षेत्र हँुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा बन्द भएको छ ।

उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर र कैकुखोला क्षेत्रमा चार दिन सवारी सञ्चालन बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङमा यही चैत ९ गते प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले चैत १७ गतेसम्म सवारी आवतजावत रोकेर सडक विस्तार र स्तरोन्नतिको काम गर्ने निर्णय गरेको थियो ।

सडक स्तरोन्नति, बेस बगाउने तथा पहिराका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले सम्भावित जोखिम तथा दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको आयोजनाका सूचना अधिकारी आश्विनीकुमार यादवले बताए ।

सडक बन्द हुने स्थानबाहेकका ठाउँमा भने सवारी चल्ने छन् । सवारी साधन परिवर्तन गरेर गन्तव्यमा पुग्ने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन् । म्याग्दी र मुस्ताङ खण्डको आन्तरिक यातायात सेवामा भने असर नपर्ने बताइएको छ । बेनी–जोमसोम ७६ किलोमिटर सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

प्याकेज नं २ को काभ्रेभिरमा गत पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ । काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो ।

निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

करिब ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ बाट निमार्ण सुरु गरिएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । करिडोरका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको ।

बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय