काठमाडौं– चीन सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको खोप सोमबार नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान सवा नौ बजे आइपुगेको हो ।

चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनीले उत्पादन गरेको ‘भेरोसेल’ खोपको आठ लाख मात्रा नेपाललाई अनुदानमा दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरेकी हुन् ।

उक्त खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागको चिस्यान केन्द्रमा राखिने छ । चीनले अनुदानमा उपलब्ध गराउने उक्त खोप लिन आइतबार वायुसेवा निगमको जहाज त्यसतर्फ गएको थियो ।

यसअघि भारत सरकारले पनि नेपाललाई १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । उक्त खोपलाई दुई देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।

भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमति दिन बाँकी रहेको छ । चीन सरकारले खोपको अनुमति प्राप्तका लागि डब्लुएचओमा निवेदन दिइसकेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले डब्लुएचओले अनुमति प्राप्त नदिए पनि खोप लगाउन पाइने जानकारी गराए ।

‘उत्पादन गरेको सम्बन्धित देशले खोपको प्रयोगका लागि अनुमति दिइसकेर लगाएपछि हामीले पनि उक्त खोप प्रयोग गर्नका लागि कुनै कानूनी बाधा अड्चन आउँदैन’ उनले भने, ‘उत्पादन गरेको देश र अन्य देशले पनि लगाइसकेको हुनाले हामीले पनि चाँडै नै यही खोप लगाउँछौ ।’

उनका अनुसार खोप लगाउने प्राथमिकतामा परेका व्यक्तिको बारेमा निर्णय गरेर खोप अभियान पुनः सञ्चालन गरिने छ ।

नेपालमा अहिलेसम्म उपलब्ध २३ लाख ४८ हजार मात्रामध्ये १८ हजार मात्रा खोप लगाइसकेको छ । बाँकी पाँच लाख ४८ हजार मात्रा र अहिले चीनबाट प्राप्त आठ लाख मात्रा खोप रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

यस्तै भारत सिरम इन्स्च्यिुट कम्पनीले उत्पादन गरेको खोप ‘कोभिसिल्ड’ खोपको १० लाख मात्रा खरिद गरेको खोप अझै आइपुगेको छैन । खोप समयमा नै नआएपछि सरकारले दोस्रो चरणको खोप अभियान स्थगित गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय