काठमाडौं– अमन अधिकारीले निर्माण गरेको फिल्म गड्स प्लान सार्वजनिक भएको छ । उनको पहिलो फिल्म गड्स प्लान युट्युब च्यानल अमन अधिकारीमा सार्वजनिक गरिएको छ।
यो फिल्म वास्तविक घटनाबाट प्रेरित भई निर्माण गरिएको अधिकारीको भनाइ छ । उक्त फल्मले जीवनका उतार–चढाव, संघर्ष र आशाको सन्देश बोकेको उनी बताउँछन् ।
उक्त फिल्ममा नृत्य, निर्देशन तथा कथा वाचन स्वयं अमनले नै गरेका छन्। गड्स प्लान एउटा फिल्म मात्र नभई आफ्नो जीवन यात्राको प्रतिबिम्ब भएको उनी बताउँछन् । ‘यसमा संघर्ष छ, पीडा छ, तर त्यससँगै अटुट विश्वास र निरन्तरताको शक्ति पनि छ,’ अमनले भने । सपना केवल देखेर पूरा हुँदैन, त्यसका लागि निरन्तर मेहनत, धैर्य र आफूमा विश्वास आवश्यक हुन्छ भन्ने कुरा फिल्ममा देखाउन खोजेको उनले बताए।
अमन सर्लाहीको लालबन्दीमा जन्मेका हुन् । भारतमा अध्ययन गर्ने सिलसिलामा बिताएको समयले जीवनको दिशा नै परिवर्तन गरिदिएको उनी बताउँछन् ।
भारतमा अध्ययन गर्दै गर्दा नृत्य र फिल्म निर्माणप्रति गहिरो रुचिका साथै आफ्नो सपना, पहिचान र उद्देश्य पनि स्पष्ट रूपमा चिन्न सकेको उनले बताए । ‘कला नै आफ्नो वास्तविक मार्ग हो भन्ने अनुभूति त्यही समयमा गरें,’ अधिकारी भन्छन् ।









