काठमाडौं– विगत केही दिनयतादेखि देशका विभिन्न भागमा देखिएको तुँवालो तत्काल नहट्ने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार तुँवालो हट्नका लागि मौसमी प्रणाली विकसित भई कि त ठूलो पानी पर्नुपर्छ कि वेगले हावा चल्नुपर्छ । ‘अबको दुई-तीन दिनमा त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था देखिएको छैन,’ मौसमविद् श्रेष्ठले भने ।

नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नाका साथै हावा नचलेका कारणले सोबाट सिर्जित प्रदूषणका कणहरू वायुमण्डलमा नै जम्मा भएकाले तुँवालो लागेको बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यी प्रणालीहरू सक्रिय नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

बुधबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री र अधिकतम तापक्रम २७.२ डिग्री सेल्सियस रहने छ ।

त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ५ डिग्री र सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ३७.५ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय