
नयाँ दिल्ली– भारतमा गत २४ घन्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजारभन्दा बढी पुगेको छ ।
सो अवधीमा कोरोना भाइरस संक्रमणबाट ३५४ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
कुल संक्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।
भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।
त्यसैगरी, कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।
मंगलबार एकै दिनमा १० लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।