
काठमाडौं– प्रतिकूल मौसमका कारण विगत छ दिनदेखि उडान प्रभावित भएको मुलुकको एक मात्र भित्रुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान सामान्य रहेको छ ।
मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकामा बिहीबारदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ ।
वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको थियो ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिए ।
गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्ति (आइएफआर) बाट मात्रै उडान सञ्चालन भएको थियो । आन्तरिक गन्तव्यमा केही संख्यामा मात्रै उडान भए ।
बुधबार अपरान्हपछि काठमाडौं उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो ।
विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्ध हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौंसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताए ।
बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो ।
विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् ।
अन्तरराष्ट्रियतर्फ पनि थोरै संख्यामा उडान रद्ध र केही उडान अन्यन्त्र मोडिनु ‘डाइभर्ट’ भएका छन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् ।
अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकामा कोभिड–१९ संक्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।
पश्चिमी वायु सक्रिय भएपछि बुधबार साँझदेखि काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।