काठमाडौं– डेढ महिनादेखि तलमाथि भइरहेको सेयर सूचक नेप्से आइतबार नयाँ उचाइमा पुगेको छ । साताको पहिलो दिन नेप्से २५.७१ बिन्दुले उकालो लाग्दा २६५७.६१ मा पुगेको छ । नेप्से यति माथि पुगेको यो पहिलोपटक हो ।

यसअघि गत फागुन ९ गते नेप्से २५४०.३५ बिन्दुमा पुगेको थियो । फागुन ९ को उच्चबिन्दु पश्चात घट्न थालेको नेप्से २३९० सम्म ओर्लेको थियो ।

आइतबार कारोबार भएकामध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादनमूलक, म्युचुअल फन्ड र लगानी समूहका सूचक भने ओरालो लागेका छन् । बैंकिङ, बिमा र अन्य समूहमा आएको सुधारले समग्र बजार बढेको हो । यस दिन बैंकिङ समूहको सूचकमा उच्च सुधार देखिएको छ ।

यस दिन सातवटा सूचीकृत कम्पनीको सेयर मूल्य सर्किट लगाउनुपर्ने तहमा उक्लेको छ । जनरल इन्स्योरेन्स, ओमी माइक्रोफाइनान्स, राधी जलविद्युत्, आइएमई जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र एनआइसी एसिया लघुवित्तको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

मूल्य घट्नेमा साल्ट्र ट्रेडिङ कर्पोरेसन सबैभन्दा अगाडि छ । साल्ट ट्रेडिङको सेयर मूल्य ४.६३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि छ । यसको ४६ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । २१२ कम्पनीको कारोबार भएको बजारमा ९ अर्ब बढीको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय