काठमाडौं– सरकारी स्वामित्वको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आइतबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब अब एक लिटर पेट्रोललाई १२० रुपैयाँ तिर्नुपर्छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ ।

नयाँ मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमको आजको निर्णयअनुसार नै मूल्यवृद्धि गरिएको हो ।

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको उनले बताए । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

निगमका अनुसार मूल्य समायोजनपछि पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई मासिक करिब ८८ करोड बराबरको घाटा हुने निगमको दाबी छ । एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख बराबरको घाटा छ ।

घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगन्ज क्षेत्रमा पेट्रोल ३० रुपैयाँ ४७ पैसा र डिजेल प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसाले नेपालतर्फ सस्तो रहेको निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय