मुम्बई– भारतमा अस्ट्राजेनेकाको कोरोनाविरोधी खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नुपरेको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पुनावालाले भारत सरकारसमक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।
प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतमै कोभिडका विरामीको संख्या ह्वात्तै बढेपछि गत महिना अस्ट्राजेनेकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पुनावालाले भारतीय सञ्चार माध्यम एनडिटिभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नुपरेको बताए ।
उनले कम्पनीलाई आफ्नो क्षमता बढाउन थप ४० करोड ८० लाख डलर आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसँग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिए ।
विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखे पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उनको भनाइ छ ।
सेरम इन्स्टिच्युटले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानको रुपमा प्रतिडोज करिब १५० भारतीय रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ ।
सेरमले विश्व स्वास्थ्य संगठनको अग्रसरतामा स्थापित कोभाक्सलाई २० करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।