काठमाडौं– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले चालु वर्ष सन् २०२१ मा विश्व अर्थतन्त्र पुनरुत्थानको गति यसअघि अनुमान गरेभन्दा सशक्त हुने प्रक्षेपण गरेको छ । कोभिड १९ विरुद्ध खोप अभियान सुरु भइसकेकोले विश्व अर्थतन्त्रको पुनरुत्थान दर उच्च रहने अनुमान गरिए पनि खोपको उपलब्धता असमान रहेकोले निराशाजनक चुनौतीहरु कायमै रहेको उसको भनाइ छ ।

मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । गत जनवरीमा उसले विश्व अर्थतन्त्र यो वर्ष ५.५ प्रतिशतले बढ्ने अनुमान गरेको थियो । आगामी वर्ष भने विश्व अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशत रहने उसको अनुमान छ । यसअघि उसले वर्ष २०२२ को वृद्धिदर ४.२ प्रतिशत रहने प्रक्षेपण गरेको थियो ।

‘महामारीको बाटोबारेको अनिश्चितता उच्च रहे पनि स्वास्थ्य र आर्थिक संकटको समाधान अझ बढी प्रस्ट देखिएको छ,’ कोषकी प्रमुख अर्थशास्त्री गीता गोपिनाथले पछिल्लो विश्व आर्थिक परिदृश्य नामक प्रतिवेदनमा भनेकी छिन् ।

नेपालको हकमा सन् २०२१ (आर्थिक वर्ष २०७८–०७९) मा आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहने उसको अनुमान छ । आगामी वर्ष २०२२ (आर्थिक वर्ष २०७९–८०) मा भने नेपाली अर्थतन्त्रको आकार ५.२ प्रतिशतले बढ्ने अनुमान विश्व आर्थिक परिदृश्य २०२१ मा गरिएको छ ।

छिमेकी भारतको अर्थतन्त्र सन् २०२१ मा १२.५ प्रतिशत र चीनको अर्थतन्त्र ८.४ प्रतिशतले विस्तार हुने अनुमान आइएमएफले गरेको छ ।

कोभिड–१९ महामारीले गर्दा सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले खुम्चिएको आइएमएफको संशोधित अनुमान छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय