काठमाडौं– माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम चरणको काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसन लगायत संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीचमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको छ । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी ६ वैशाखभित्र सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ । बाँकी सानातिना काम सम्पन्न गरी आगामी वैशाख दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज साफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचना तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माण अन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङ लगायत सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायत सिभिल संरचना र त्यहाँ जडित गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणको प्राविधिक परीक्षण सफल भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारसँग संयुक्त रुपमा बाँकी रहेका निर्माण कार्य शीघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिकाबारे छलफल गरेका थिए । बाँकी काम आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा जटिल समस्या नआए ७ देखि ९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य छ ।

सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६–६ वटा टर्बाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाखभित्र विद्युत् उत्पादन सुरु हुने शाक्यले जानकारी दिए ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनामा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६–६ वटा टर्बाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाखभित्र विद्युत् उत्पादन सुरु हुने शाक्यले जानकारी दिए ।

‘भूकम्प, बाढीपहिरो, कोरोना जस्ता समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, निर्धारित तालिकाअगावै विद्युत् उत्पादन हुने गरी बाँकी काम समानान्तर रुपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ,’ उनले भने, ‘चालु आर्थिक वर्षभित्र सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनुपर्छ ।’ आयोजनामा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः उत्पादन हुनेछ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका परकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले आयोजनाको निर्माण धकेलिएको थियो ।

लट २ को ठेक्का भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइप लगायत हाइड्रोमेकानिकल उपकरण उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए ।

‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्यो, त्यसबाट तंग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो,’ उनले भने, ‘लट २ को ठेक्का पाएको टेक्सम्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

आयोजनाले चरिकोट–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र सातवटा पक्की पुल बनाएको छ ।

यही पूर्वाधार प्रयोग गरी तामाकोसी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसी बाहेक साना–ठूला गरी करिब ७०० मेगावाट क्षमताका २१ जलविद्युत् आयोजना अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय