
काठमाडौं– सिंगटी हाइड्रोपावरको साधारण सेयर (आइपिओ) बाँडफाँट भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो ।
कम्पनीको साधारण सेयर १५ लाख ६५ हजार ५३० जनाले माग गरेका थिए । तीमध्ये ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । बाँकी १५ लाख ५९ हजार ८०२ जना आवेदकलाई समावेश गरेर गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको हो ।
योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले सिंगटीको सेयर पाएका छन् । बाँकी १२ लाख ९० हजार १०२ जना योग्य आवेदकको हात खाली भएको कम्पनीले जनाएको छ ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । सोको ५ प्रतिशत (१ लाख ५४ हजार कित्ता) सामूहिक लगानी कोषका लागि र २ प्रतिशत (५८ हजार कित्ता) कर्मचारीलाई बाँडफाँट गरिएको छ । बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणले पाएका छन् ।
उक्त नतिजा सिडिएससीको https://iporesult.cdsc.com.np कम्पनीको http://singatihydro.com र बिक्री प्रबन्धक मेगा क्यापिटलको https://megacapitalmarkets.com मा गई हेर्न सकिने बताइएको छ । तर तत्काल ती साइटहरुमा पनि नतिजा राखिएको छैन ।