काठमाडौं– मुलुकको हवाई उड्डयन क्षेत्रमा खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ ।

देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङको विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगन्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औं वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

देश संघीयतामा गएको परिप्रेक्षमा प्रादेशिक रुपमा ठूला आन्तरिक विमानस्थललाई प्रदेश सरकार, स्थानीय सरकार तथा संघीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ । सोही बमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र संघीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा ६ आन्तरिक वायुयानभन्दा बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गरी गत मंसिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन ६ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेसन’ गर्न सकिने गरी निर्माण गरिएको छ ।

त्यसैगरी, उक्त विमानस्थलको मौजुदा एक हजार ५०० मिटर धावनमार्गको लम्बाइ थप २०० मिटर बढाउने कार्य जारी छ । कैलाश मानसरोवार जाने भारतीय पर्यटकलाई लक्ष्य गरी उक्त विमानस्थलबाट नयाँदिल्ली उडान गर्ने योजना रहे पनि हवाई रुटको टुंगो नलाग्दा हाल स्थगन गरिएको छ ।

भविष्यमा भारतीय सहरबाट क्षेत्रीयस्तरमा हुन सक्ने अन्तर्राष्ट्रिय उडानलाई दृष्टिगत गरी उक्त विमानस्थलको चरणबद्ध विकास गर्नु आवश्यक रहेको क्यानले उल्लेख गरेको छ । धनगढी, भरतपुर र चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सीमार्ग र एप्रोन कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।

जनकपुर विमानस्थलमा अत्याधुनिक ‘स्टेल स्ट्रक्चर’ प्रविधिबाट निर्मित टर्मिनल टावर भवन निर्माण भई हालै सञ्चालनमा आएको छ । महेन्द्रनगर विमानस्थलमा स्थानीय नगरपालिका तथा प्रदेश सरकारसँग सहकार्य गरी विमानस्थल विस्तार गर्न गुरुयोजना तयार पारिएको छ ।

क्यानको विवरणमा हाल देशभर ५४ विमानस्थलमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थलमध्ये ३५ विमानस्थलको धावनमार्ग पक्की रहेको छ । अहिले मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छन् । गौतमबुद्ध विमानस्थलको ९३ प्रतिशत र पोखरा विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय