काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापार असन्तुलन घटाउनेतर्फ वर्तमान सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापार घाटा घटाउन उल्लेखनीय सफलता प्राप्त नभए पनि त्यसमा क्रमिक सुधार आएको बताए ।

उनले मजदुरका समस्या नरहेको, बन्द–हडताल सधैंका लागि बन्द भएको र मुलुक आर्थिक विकासका साथै सामाजिक क्षेत्रको विकासका लागि दृढ संकल्पका साथ अघि बढिरहेको बताउँदै मुलुकमा व्यापारको वातावरण बनेकाले ढुक्क भएर औद्योगिक विकासमा लाग्न उद्यमी व्यवसायीलाई आह्वान गरे । उनले भने, ‘सरकार व्यवसायी, रोजगारदाता र मजदुरबीचको सुमधुर सम्बन्धबाटै औद्योगिक उन्नयन हुने भएकाले समस्या भए समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध छ ।’

प्रधानमन्त्री ओलीले वैदेशिक लगानीका रुपमा ठूलो धनराशि मुलुकमा भित्रियोस् भन्ने उद्देश्यले सरकारले न्यूनतम वैदेशिक लगानीमा सीमा तोकेको स्पष्ट गर्दै खुद्रा लगानीबाट समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार तुल्याउन कठिन हुने बताए ।

उनले प्राविधिक र वित्तीय रुपमा सुदृढ उद्योग व्यवसायबाट नै आर्थिक समृद्धिको लक्ष्य हासिल हुने विचार व्यक्त गर्दै देश विकासको बाटोमा अग्रसर हुन उद्योग व्यवसायी मात्र नभई हरेक पेशा र व्यवसायका व्यक्ति अघि बढ्नुपर्नेमा जोड दिए ।

संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकासका लक्ष्य हासिल गर्न सरकार लागिपरेको र त्यस निम्ति दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न जरुरी भएको भन्दै उनले वर्तमान सरकार स्पष्ट दृष्टिकोण र मार्गचित्र तयार गरी अघि बढिरहेको दाबी गरे ।

प्रधानमन्त्रीले देशको औद्योगिक विकासका बाधक, ऐन–नियम र कानुन प्रतिकूल भए तिनलाई समयानुकूल संशोधन र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गर्दै साझा संकल्पका साथ राष्ट्र निर्माणमा जुट्न आग्रह गरे ।

उनले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै लगानीकर्तालाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न अनुरोध गरे ।

‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौं, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौं,’ महासंघका अध्यक्ष शेखर गोल्छाले स्वागत मन्तव्यका क्रममा राखेको उद्योगी–व्यवसायीले बेहोर्नुपरेका कठिनाइसम्बन्धी गुनासोको जवाफमा प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे ।

कोरोना भाइरस पुनः प्रकट भएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई सचेत रहन तथा सावधानी अपनाउन आग्रह गरे । सो अवसरमा उनले महासंघको प्रकाशन ‘राष्ट्रिय आर्थिक रुपान्तरण–२०३०’ पुस्तक सार्वजनिक गर्नुका साथै निर्यात व्यापार, पर्यटन, निर्माण, उत्पादनका क्षेत्रमा योगदान गरेका उद्योगीहरुलाई सम्मान पनि गरे ।

महासंघका अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने सरकारको लक्ष्यलाई हरतरहले साथ दिइरहेको भन्दै आर्थिक रुपान्तरणका कार्यक्रमहरु कार्यान्वयन गर्न सरकारी स्तरबाट पनि सहयोग हुनुपर्नेमा जोड दिए ।

अर्थतन्त्रमा २२ प्रतिशत योगदान गरेको र २० लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको साना तथा मझौला उद्योगका समस्या समाधानका साथै औद्योगिक उन्नयनका निम्ति निजी क्षेत्रले सरकारी सहयोगको अपेक्षा गरेको उनले बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधानको क्षेत्रमा लगानी बढाउन सके आर्थिक विकासमा टेवा पुग्ने विचार व्यक्त गर्दै अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्ने बताए नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्न एक–दुई वर्षको परिश्रमले नपुग्ने भएकाले त्यसका लागि एक दशककै दृष्टिकोण, प्रस्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय