काठमाडौं– निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २२औं साधारणसभाका अवसरमा आजदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी सुरु गर्न लागिएको महासचिव रोशन दाहालले जानकारी दिएका छन् ।

प्रदर्शनी दुई दिनसम्म चल्नेछ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उनले जानकारी दिए ।
साधारणसभाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गर्नेछन् । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ । कोभिड–१९ को संक्रमणबीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासंघको काठमाडौं घोषणापत्र जारी गरिने महासचिव दाहालले बताए ।

साधारणसभा सम्पन्न गर्न महासंघका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभा उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासंघको मुखपत्र नेपाली निर्माण विशेषांकको विमोचन गर्नेछन् । निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय