सिराहा– शनिबार राति लहानमा अज्ञात समूहले सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको हत्या गरेको छ । उक्त समूहले गोली हानी विश्वकर्माको हत्या गरेको हो ।
लुटपाटको लागि आएका समूहले प्रतिकार गर्न खोजेपछि प्रदीपमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । छातीमा गोली लागेका विश्वकर्माको उपचारको क्रममा मृत्यु भएको हो ।
सात–आठ जनाको उक्त समूह धारिलो हतियार र पेस्तोलसहित विश्वकर्माको डेरामा प्रवेश गरेको र प्रतिकार गर्न खोज्दा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपीले सुदीप राजभण्डारीले जानकारी दिएका छन् । विश्वकर्माको सुनचाँदी पसल स्थानीय वडाध्यक्ष कन्हैया गुप्ताको घरमा छ ।
प्रहरीले घटनास्थलमा गोलीको खोका भेटेको छ । लुटेरा समूहले विश्वकर्माकी श्रीमतीमाथि पनि धारिलो हतियार प्रहार गरेको छ । प्रहरीका अनुसार श्रीमतीको हातमा चोट लागेको छ र अवस्था सामान्य छ ।
गोली हानी हत्या गरिएका विश्वकर्मा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए ।
घटनालगत्तै पुगेको प्रहरी टोलीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । लहान–७ का रामकृष्ण चौधरी र सुरेशकुमार सहनीलाई पक्राउ गरेको एसपी राजभण्डारीले जानकारी दिएका छन् ।