काठमाडौं– मनकामना दर्शन प्रालिले केबलकार सेवा यसअघि अनुमान गरिएभन्दा एक दिन अघि नै सुरु हुने जनाएको छ । कम्पनीले शनिबार एक सूचना जारी गर्दै प्रथम चरणको कार्य अनुमानित समयभन्दा एक दिनअगावै सम्पन्न हुने भएको जनाएको हो ।

यसअघि ३१ चैतबाट सुरु हुने भनिए पनि अब ३० चैत सोमबारबाटै मनकामना केबलकार सेवा सुचारु हुने कम्पनीले प्रस्ट पारेको छ ।

कम्पनीले चैत २३ गते एक सूचना जारी गर्दै केबुलकार ६ दिन बन्द हुने जनाएको थियो । उक्त सूचनामा स्तरोन्नतिको पहिलो चरणको कामका लागि चैत २५ देखि ३० गतेसम्म केबलकार सेवा बन्द गरिने उल्लेख थियो ।

मनकामना केबलकार २०५५ मंसिर ८ गते सुरु भएको थियो । लामो समयसम्मको सञ्चालनमा मर्मत, सम्भार खर्च बढ्न गएको, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने रणनीति लिएको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जाहरु फेरिने, दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पार्टपूर्जाहरु फेर्ने जनाएको छ ।

अन्तिम चरणमा हाल एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबुल लट्ठा बदल्ने, सञ्चार केबुललाई सेट्रा केबुलमा रुपान्तरण गर्ने, डिसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी अत्याधुनिक प्रविधियुक्त बनाउने योजना छ ।

यी तीन चरणमा काम गर्न दुई वर्ष समया चाहिने र नयाँ प्रविधिसहित २५औं वार्षिकोत्सव मनाउने तयारी गरिएको कम्पनीले जनाएको छ । यो बीचमा नियमित मर्मत सम्भार र अन्य कामका लागि पटकपटक सेवा अवरुद्ध हुन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले यसबीचमा पनि अधिकतम सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय