काठमाडौं– हुम्ला सदरमुकाम सिमकोटमा अधिकांश होटल तथा अन्य व्यवसाय दर्ता नै नगरी सञ्चालन भइरहेको पाइएको छ । आइतबार सिमकोट बजारको अनुगमन गर्ने क्रममा उक्त रहस्य खुलेको हो ।

आइतबार नमूना विधिबाट सिमकोट बजारका होटल, पसल र फ्रेस हाउसको अनुगमन गर्दा अधिकांश दर्ता नगरेको पाइएको सुर्खेतबाट हुम्ला पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले बताए । घरेलु उद्योगमा दर्ता नगरेका व्यवसायीलाई पहिलोपटक चेतावनी दिइएको र आगामी दिनमा दर्ता प्रक्रिया पूरा नगरे सिल गर्ने उनले बताए ।

सिमकोट बजार अनुगमन गर्ने क्रममा सातवटा पसलको दर्ता नगरिएको भेटिएको र बजार क्षेत्रका होटल तथा पसल सम्पूर्णको अनुगमन गर्ने हो भने त्यो संख्या अझै बढ्ने देखिएको उनले बताए । दर्ता भएका पसलमा प्यान नम्बरसमेत नलिएको भेटिएको प्रमुख थापाले बताए ।

पसलमा खाद्य र अखाद्य तथा मासु र पेय पदार्थसमेत सँगै राखेर बिक्री वितरण गरिएको भेटिएको छ । त्यस्तै पेय पदार्थ, जंकफुड, दालमोठ, भुजियाको उपभोग गर्ने म्याद गुज्रिएको पाइएकाले ती वस्तु नष्ट गर्न लगाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय