भक्तपुर– मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष आठौंपटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन् ।

गत वर्ष लकडाउनका कारण जात्रा सञ्चालन हुन नसक्दा इतिहासमै पहिलोपटक रोकिएको यो जात्राले यस वर्ष भने निरन्तरता पाउने भएपछि जिब्रो छेड्न उनी तयार भएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकको रुपमा कार्यरत उनले कोरोना महामारी सुरु भएसँगै गत वर्षदेखि कोभिडका बिरामी मात्रै बोक्ने आइसोलेटेड एम्बुलेन्स चलाएर कोरोना संक्रमितको गर्दै आएका छन् ।

बुद्धकृष्णले भने, ‘मानवीय सेवा र कला संस्कृतिको संरक्षणमा लाग्दै आएको मैले गत वर्ष कोरोनाका कारण जात्रा रोकिएकाले जिब्रो छेड्न पाइन, यस वर्ष वैशाख २ गते आठौंपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने निर्णय गरेको छु, एम्बुलेन्स चलाएर विरामीको सेवा पनि गरिरहेको छु ।’

नगरपालिकाले यस वर्ष बिस्केटका कुनै पनि जात्रा र पर्व नरोकिने सूचना जारी गरेपछि मध्यपुरथिमिमा मनाइने सबै जात्रा सञ्चालन हुने भएका हुन् । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोनाको बहानामा यस वर्ष यहाँका कुनै पनि जात्रा पर्व नरोकिने बताउँदै सबै जात्रामा उत्साहपूर्वक नागरिकलाई आह्वान गरे ।

नगरप्रमुख श्रेष्ठले भन्नुभयो, ‘यस वर्ष कुनै जात्रा रोकिँदैन, नेवार समुदायको कला, संस्कृति र इतिहास बोकेको जात्रा पर्व कुनै बाहनामा रोकिनु हुँदैन, थिमिको सबै जात्रा यथावत चल्छ र चलाउँछौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय