काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को संक्रमण बढ्न थालेपछि काठमाडौं लगायत देशका ठूला सहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन् । स्वास्थ्य पत्रकार मञ्च, नेपालले मंगलबार यहाँ आयोजना गरेको साक्षात्कारमा उनले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म कक्षा अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिए ।

‘कम्तीमा सहरी क्षेत्रका विद्यालयमा एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी छ,’ मन्त्री त्रिपाठीले भने । उनले अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताए । उनले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकोले डरलाग्दो रहेको बताए ।

‘१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन,’ उनले भने, ‘त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डरलाग्दो रुपमा फैलिने सम्भावना छ ।’

उनले अहिलेको अवस्थामा संक्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए । ‘अहिले संक्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म ६ लाख संक्रमित पुग्ने प्रक्षेपण गरिएको छ,’ मन्त्री त्रिपाठीले भने ।

उनले संक्रमण बढ्न नदिन सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र संक्रमण देखिएपछि आइसोलेसन सेन्टरमा राखिने बताए । उनले नेपाल भारतको मुख्य सीमा नाकाबाट आउने हजार जना अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने समेत भइरहेको जानकारी गराए ।

उनले बन्दाबन्दीको अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताए । ‘गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दी नगइकन हामी रोकथाम र नियन्त्रण गर्न सक्षम छौं,’ उनले भने, ‘मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौं ।’

उनले पहिलेको भाइरसले एकजनाबाट ६ जनामा संक्रमण सरे पनि अहिलेको नयाँ भाइरसले एकजनाबाट ४० जनामा सर्न सक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय