काठमाडौं– सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सेयर निष्कासन (आइपिओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीलाई साधारण सेयरको प्रारम्भिक निष्कासन गर्न अनुमति दिएको हो ।

बोर्डले यस कम्पनीलाई सर्वसाधारणका लागि सय रुपैयाँ अंकित दरका २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ ।

कम्पनीले साधारण सेयर निष्कासनका लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले जलविद्युत् आयोजनाहरुको लागि सेयर पुँजी जुटाउने उद्देश्यले स्थापना गरेको यो कम्पनीले ४.४ राधी साना जलविद्युत् परियोजना, १८४ किलोवाटको स्यांगे जलविद्युत् परियोजना र ४ मेगावाटको खुदी जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

११ मेगावाटको तल्लो खारे खोला जलविद्युत् आयोजना, १२ मेगावाटको दोर्दी १ हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट, ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर प्रोजेक्ट र ४५ मेगावाटको खासुवा खोला हाइड्रोपावर प्रोजेक्ट कम्पनीका निर्माणाधीन र विकासको चरणमा रहेका आयोजनाहरु हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय