
राँझा– नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ४९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत ७४ कोरोना संक्रमितमध्ये ४९ जनाको अवस्था गम्भीर रहेको र सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस संक्रमणबाट हालसम्म बाँकेका ५९ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका ९३ जनाको निधन भएको छ । बाँकेमा सक्रिय संक्रमितको संख्या २८२ पुगेको छ । बाँकेमा अहिलेसम्म कुल पाँच हजार ४३ जनामा कोरोना पोजेटिभ भएकामा चार हजार ७०२ जना डिस्चार्ज भइसकेका छन् ।
बाँकेमा पछिल्लोपटक आज बिहान गुर्भाकोट नगरपालिका–१३ सुर्खेत निवासी ३१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । एक हप्ताअघि मात्र भारतबाट फर्किएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपश्चात चैत ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरी उपचार गर्दा गर्दै आज बिहान ७ः३५ मा मृत्यु भएको बाँकेका कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए ।
बाँकेमा बढ्दै गएको कोरोना भाइरस संक्रमण रोकथामका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा कम्तीमा ५० शय्याको आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र साविकमा सञ्चालनमा आएका १२० शय्याको ह्वाइटहाउस आइसोलेसन पुनः सञ्चालन गर्ने, कोरोना बिरामी ओसारपसार गर्न प्रत्येक स्थानीय तहमा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, भेरी अस्पतालको १४२ शय्याको आइसोलेसनमा जनशक्ति थपेर सञ्चालनका लागि तयारीमा राख्ने तथा यसअघिका जिल्लामा रहेका सबै आइसोलेसन सेन्टर, होल्डिङ सेन्टर तयारी अवस्थामा राख्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।