दमौली– तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६औं महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । जिल्लाका सातवटा बजार एकाइका गरी एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भए ।
उनका प्रतिस्पर्धी बैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे । २३ मत बदर भएको थियो ।
अध्यक्षमा मिश्र र श्रेष्ठको उम्मेदवारी रहेपछि निर्वाचन प्रक्रियामा गएको हो । अर्का उम्मेदवार अर्जुन अधिकारीले उम्मेदवारी फिर्ता गरेका थिए ।
सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनी ३४७, डुम्रे २६१, थर्पु १२१, सत्रसय ४७, विमलनगर ४१ र बन्दीपुर ४८ सदस्य रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् । अध्यक्ष पद दाबी गर्दै लोकतान्त्रिक खेमाका श्रेष्ठ र बैकुण्ठनाथ मिश्र चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् ।
अध्यक्षबाहेक अन्य सबै पद निर्विरोध भएको थियो । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल निर्विरोध भए । त्यसैगरी, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, एसोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत भएका छन् ।