काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रलाई धोखा दिएर एमालेमा आएका रामबहादुर थापालाई पुनः गृहमन्त्री नियुक्त गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले थापा पार्टीको सदस्य नरहेको जानकारी गराएसँगै उनको राष्ट्रिय सभा सदस्यको पद खारेज गई गृहमन्त्री पद स्वतः गुमेको थियो ।

नेपालको संविधान अनुसार राष्ट्रियसभा वा प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति मन्त्री हुन पाउँदैन । सोही अनुसार थापाको पद गुमेको थियो ।

लगत्तै उनलाई प्रधानमन्त्री ओलीले पुनः गृहमन्त्री नियुक्त गरेका हुन् । अब थापा ६ महिनाभित्र राष्ट्रियसभा वा प्रतिनिधिसभाको सदस्य बन्नुपर्छ । नत्र उनले गृहमन्त्रीमा निरन्तरता पाउने छैनन् ।

थापाले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ । उनलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले २०७४ मा राष्ट्रियसभा सदस्य बनाएको थियो । गोलाप्रथाबाट उनले ६ वर्षे कार्यकाल पाएका थिए ।

राष्ट्रियसभामा माओवादी केन्द्रका सचेतक दीनानाथ शर्माले उनलाई सांसदबाट मुक्त गर्न गत चैत २७ गते लिखित पत्र पेस गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबारै उनको पद गुमेर सो स्थान रिक्त हुन आएको जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय