काठमाडौं– निजी वायुसेवा कम्पनी बुद्ध एयरले थप ६ गन्तव्यमा उडान सुरु गर्ने तयारी गरेको छ । यसअघि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई आधार बनाएर उडान गर्दै आएको बुद्धले अन्तर प्रादेशिक उडानको तयारी गरेको हो ।
प्रादेशिक उडानअन्तर्गत बुद्धले आगामी मे १ बाट पोखरा विमानस्थललाई आधार बनाएर नयाँ चार गन्तव्यमा उडान विस्तार गर्ने

कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार नयाँ गन्तव्यका रुपमा बुद्धले पोखरा–भैरहवा, पोखरा–सिमरा, पोखरा–नेपालगन्ज, पोखरा–विराटनगर उडान गर्न लागेको हो । उनका अनुसार पहिलोपटक बुद्धले अन्तरप्रदेशीय उडान सुरु गर्न लागेको हो । बुद्धले यही वैशाख १८ गतेदेखि नै भरतपुर–भैरहवा र तुम्लिङटार–विराटनगरमा उडानको तयारी गरेको छ ।

नयाँ गन्तव्यमा सातामा तीन उडान
बुद्धले अन्तरप्रदेशीय उडानअन्तर्गत सार्वजनिक गरेको नयाँ ६ वटा गन्तव्यमा सातामा तीन दिन उडानको तयारी गरेको छ । सुरुआती चरणमा कम्पनीसँग भएको बिचक्राफ्ट जहाजबाट सातामा तीन दिन उडानको तयारी भएको प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए ।

उनका अनुसार यात्रुको माग र चापका आधारमा उडान संख्या थपसँगै कम्पनीसँग भएको ७२ सिट क्षमताको एटिआर–७२ जहाजबाट उडान गर्नेछ । बुद्धले हाल नौवटा एटिआर–७२, तीन वटा एटीआर–४२ र २ वटा बिचक्राफ्ट गरी १४ वटा जहाजबाट विभिन्न गन्तव्यमा उडान गर्दै आएको छ । यसमा भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

बुद्धले यही वैशाख १८ गतेदेखि सुरु गर्न लागेको अन्तरप्रदेशस्तरीय उडान गन्तव्यअन्तर्गत पोखरा–नेपालगन्ज रुटमा चार हजार ५००, पोखरा–विराटनगरमा ८ हजार, पोखरा–सिमरामा ४ हजार ३००, पोखरा–भैरहवामा तीन हजार १००, भैरहवा–भरतपुरमा दुई हजार ५०० र विराटनगर–तुम्लिङटारमा तीन हजार १०० भाडादर तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय