काठमाडौं– भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को संक्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल संक्रमितको संख्या एक करोड ५९ लाख ३० हजारभन्दा बढी भएको छ ।

सोही अवधीमा भारतमा कोरोनाबाट २ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८४ हजार ६५७ पुगेको छ ।

भारतमा कोरोना भाइरस संक्रमण सुरु भएयता एकै दिनमा तीन लाखभन्दा बढी संक्रमित भएका यो पहिलो घटना हो । कोरोना माहामारी सुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ ।

भारतमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार ४२८ रहेको छ । यहाँ हालसमम एक करोड ३४ लाख ५४ हजार ८८० व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । हालसम्म १३ करोड २३ लाख ३० हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोनाको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाविरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा बुधबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कुल २७ करोड २० लाख भन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा रहेको छ । दिल्लीमा मंगलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस संक्रमित भएका २७७ जनाको मृत्यु भएको छ ।

भारतको दिल्लीमा कोरोना सुरु भएपछि हालसम्म कोरोना संक्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय