बागलुङ– बागलुङ–पर्वत जोड्ने झोलुंगे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मंगलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतिव्यक्ति २० लिन थालिएको थियो ।
जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य स्थगन गरिएको नगरपालिकाले जनाएको छ । सो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत बिहीबार सार्वजनिकरूपमा सूचना जारी गरिएको छ ।
यसअघि गत चैत २६ गते बसेको नगर कार्यपालिकाको बैठकले पूर्वाधार उपयोग करअन्तर्गत पुल आउजाउ गर्ने व्यक्तिबाट २० लिने निर्णय गरेको थियो ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विद्यार्थीलाई १० तथा विदेशी पर्यटकलाई ५० तोकिएको थियो । यस्तै बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाका बासिन्दाबाट शुल्क नलिने निर्णय गरिएको थियो ।
चैत्राष्टमी पर्वकै दिनबाट शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमासमेत उक्त कार्यको आलोचना भएको थियो ।
बुधबार जिल्लामा क्रियाशील विद्यार्थी संगठनले समेत कर लिने निर्णय सच्याउन नगरपालिकालाई दबाब दिएका थिए ।
जनसाधारणको आवातजावतमा सहजताका लागि निर्माण गरिएको झोलुंगे पुलमा कर लगाउनु अनुचित हुने भन्दै स्थानीयस्तरमा समेत विरोध सुरु भएको थियो ।
बागलुङ–१ बांगेचौर र कुश्मा–१ अुदवाबारी जोड्ने ५६७ मिटर लामो उक्त झोलुंगे पुललाई सिंगल स्पानतर्फ संसारकै लामो भनेर नगरपालिकाले जिकिर गर्दै आएको छ । उक्त झोलुंगे पुलले पर्यटकीय आकर्षणसमेत थपेको छ । संघ सरकारको लगानीमा पुल बनेको हो ।