साओ पाउलो– ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नजिक पुगेको छ । ब्राजिलमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ ।

यहाँ यो संक्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घन्टामा कोभिड–१९ को संक्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी, कोरोना भाइरसको संक्रमण सुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ४३ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घन्टामा कोभिड–१९ का करिब ३३ हजार जना संक्रमति थपिएका छन् । यहाँ दिनहुँ नागरिकको ज्यान जाने र संक्रमित हुने क्रम कम हुन सकेको छैन ।

ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड–१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन् । जसका कारण संक्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन् ।

कोरोनाविरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । तर हाल अत्याधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ । तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गरेका छैनन् ।

भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।

यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । उता यस संक्रमणबाट यस राज्यका मात्र ९२ हजार भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यहाँ अहिले पनि हरेक दिन नयाँ संक्रमितहरु देखिने क्रम जारी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय