काठमाडौं– सरकारले वैदेशिक लगानी चाहियो भनेर बारम्बार भनिरहेको छ, सरकारले यससम्बन्धी सभा सम्मेलन गरिरहन्छ । वैदेशिक लगानी भित्र्याउन राज्यले विभिन्न ऐन, कानुनहरु बनाइसकेको र त्यस कानुनको आधारमा सहजीकरण गर्ने प्रतिबद्धता जनाइरहेको छ । तर सरकारको एउटा निकाय अध्यागमन विभागले गरेको एक निर्णयले प्रत्यक्ष वैदेशिक लगानीमा देशभित्रै चलिरहेको एउटा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको छ ।

विभागले भिसाको विषयलाई लिएर गरेको निर्णयका कारण चिनियाँ नागरिक चाङ सिङ्चोङले नवलपरासी (सुस्ता पश्चिम) जिल्लाको बर्दघाटमा ५ वर्षदेखि चलाइरहेको गणपति इँट्टा उद्योग बन्द हुने स्थितिमा पुगेको हो । उक्त उद्योग बन्द भए ४०–५० जना कामदारको रोजगारी साथै उद्योगको लगानी तथा प्रविधि गुम्ने उद्योग व्यवस्थापनले जनाएको छ ।
गत वर्ष कोभिड १९ का कारण अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको समयमा अध्यागमन विभागले उद्योगको मुख्य लगानीकर्ता चाङ र उनकी श्रीमती वाङ साइसियूको भिसाको अवधि सन् २०२० जुलाई ९ सम्म मात्र दिएको थियो ।

नेपालमा ओभर स्टे (लामो समय) बसेको भन्दै लकडाउनकै समयमा विभागले नेपाल छाडेर चीन फर्किनुपर्ने र एक वर्ष नेपाल आउन नपाउने भनेर निर्णय गर्यो । विभागको उक्त निर्णयले वैदेशिक लगानीमा सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएको हो । यसअघिका महानिर्देशक रमेश कुमार केसीले उनीहरुलाई चीन फर्काउने निर्णय गरेका थिए ।

‘लगानीकर्ता चाङ र उनकी श्रीमती चीन फर्किनुपर्यो भने यहाँ चलिरहेको उद्योग बन्द गरेर हिँड्नुपर्ने अवस्था आउन सक्छ,’ उद्योगका व्यवस्थापक सुनिल मगर भन्छन्, ‘हामीले अध्यागमन विभागले गरेको उक्त निर्णय पुनर्विचार गरियोस् भनेर उद्योग विभाग (एकल विन्दु सेवा केन्द्र), गृह मन्त्रालयमा अनुरोध गरेर पत्र पठाएका छौं । दुवैजनाको पासपोर्ट अध्यागमन विभागले नियन्त्रणमा राखेको छ । हामीलाई दिएको छैन ।’

‘अहिले सरुवा भएर आएका महानिर्देशक नारायणप्रसाद भट्टराईलाई समेत यो विषयमा पुनर्विचार गरिदिन उद्योग व्यवस्थापनले आग्रह गरेको छ तर सुनुवाइ हुन सकेको छैन,’ उनले भने, ‘यहाँ यस्ता धेरै चाइनिजहरु ओभर स्टे भएर बसिरहेका छन् । हामीले सुने अनुसार विभागमा सेटिङ गरेर पैसा खुवाउन सक्यो भने भिसा अपडेट हुन्छ रे तर हाम्रा लगानीकर्ताले राज्यलाई कर तिरेर उद्योग व्यवसाय गरेर बसिरहँदा उल्टै समस्या माथि समस्या भोग्नु परिरहेको छ ।’
‘भिसासम्बन्धी समस्या नेपाली व्यावसायिक साझेदारका कारण उत्पन्न भएको हो,’ उद्योगका व्यवस्थापक मगरले भने, ‘हामीले नचाहँदा नचाहँदै पटकपटक लाखौं रुपैयाँ जरिवाना तिरेर अध्यागमन विभागमा भिसा अपडेट गरिराख्यौं ।

नेपाली साझेदारले कम्पनी अद्यावधिक नगरिदिएको र करसम्बन्धी विवाद उठेका कारण आज यो स्थिति आएको हो ।’
‘नेपाली साझेदारका कारण कम्पनीको विषयमा विवाद हुँदै आइरहेकोले भिसा लगाउन समेत समस्या भएको अवस्थामा ओभर स्टे बस्नुपर्ने, जरिवाना तिर्दै निश्चित अवधिका लागि टुरिस्ट भिसा लिनुपर्ने र यसबीचमा कोभिड–१९ का कारणले समेत भिसाको म्याद बढाउन नसकिएको लगायत समस्याले जरिवाना, बिलम्ब शुल्क तिरी भिसा अपडेट गराइराखेको मगरले बताए ।

नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर चाङले उक्त उद्योग चलाएका हुन् । सुरुमा राम्रैसँग सञ्चालन हुँदै आएको उद्योग २०७५ सालबाट नेपाली साझेदारसँग विवाद भई उद्योगको हिसाबकिताब बिग्रँदै गइरहेको, नेपाली साझेदारले कागजपत्रमा हस्ताक्षर नगरिदिनाले अडिट रिपोर्ट लगायत करसम्बन्धी विवाद भएको जस्ता समस्याका कारण कम्पनी अपडेट हुन नपाएकोले व्यावसायिक (बिजनेश) भिसाको समस्या आएको व्यवस्थापनले जनाएको छ ।

चाङ सिङ्चोङले चीनमा रहेको आफ्नो कम्पनी रोङचङ सिटी हङ युन डेकोरेसन इन्जिनियरिङ लिमिटेडबाट नेपालमा वैदेशिक लगानी ल्याएका थिए । उक्त कम्पनीले नेपालमा चालु रहेको गणपति इँट्टा उद्योगमा २०७३ वैशाख १५ मा विदेशी लगानी स्वीकृत गराई नेपाली साझेदार सन्दिप अधिकारीसँग मिलेर उद्योग चलाइरहेको छ ।

यसअघि चिनियाँ लगानीकर्ता र अधिकारीबीच कम्पनीको विषयमा विवाद भएर अद्यावधिक हुन नसकिरहेको उक्त उद्योगको सबै हिसाबकिताब तथा कर फरफारक भई नेपाली पक्षको सेयर समेत मुख्य लगानीकर्ता चाङले खरिद गरी आफ्नो नाममा पूर्ण स्वामित्वको उद्योग बनाइसकेका छन् । वैदेशिक लगानीको उक्त उद्योग हाल कम्पनी रजिस्ट्रारको कार्यालयबाट सेयर लगत अद्यावधिक भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय