काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।
‘समावेशी र दिगो आर्थिक पुनरुत्थानको मार्गमा महामारीको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नुपरेको छ,’ दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रको उत्थानशीलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बाबजुद निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपूर्ण नै रहेका छन् ।’
अपेक्षित रुपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का लागेका उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए ।
‘कोभिड–१९ को बिस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिबिम्बित भएको देखिन्छ,’ उने भने, ‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ । गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ ।’
कोभिड–१९ को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।
अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा वस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे ।
उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए ।
कोभिड–१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शिघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा राखे ।
आर्थिक पुनरुत्थानको गतिलाई दिगो बनाउन साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सिर्जना र स्वदेशी उत्पादनमा अधिक रुपमा केन्द्रित भई आर्थिक कृयाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नुपर्ने बताए ।
सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे ।
एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।
अर्थमन्त्री पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद ज्ञापन गरे ।
बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए ।
यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पुँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।
सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड–१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थाशील आर्थिक वृद्धि विषयमा छुट्टा–छुट्टै प्रस्तुति दिएका थिए ।
अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्नेमा जोड दिए ।